You are viewing the translated version of प्रस्ताव पेश गर्ने.

Rule 24
प्रस्ताव पेश गर्ने
(१) ऐन तथा यस नियमावली बमोजिम लगानी गर्न इच्छुक प्रस्तावकले प्रस्ताव सम्बन्धी कागजात प्राप्त गरी सोमा उल्लिखित विवरण तथा देहायका कुरा समेत खुलाई प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सीलबन्दी गरी पेश गर्नु पर्नेछः-
(क) परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन,
(ख) परियोजनाको प्राविधिक डिजाइन र त्यसको दीगोपना,
(ग) परियोजनाको अनुमानित लागत,
(घ) परियोजनाको वित्तीय स्रोत,
(ङ) परियोजना कार्यान्वयनको व्यावसायिक योजना,
(च) प्रारम्भिक वातावरणीय अध्ययन सम्पन्न भएकोमा सोको प्रतिवेदन वा अध्ययन गर्ने योजना,
(छ) परियोजना कार्यान्वयन गर्दा उपभोक्तासँग लिने शुल्क र तत्‌ सम्बन्धी अन्य आवश्यक कुरा,
(ज) उर्जा सम्बन्धी परियोजना कार्यान्वयन गर्दा नेपाल सरकारलाई अनुसूची- २ बमोजिम बुझाउने रोयल्टीको दर र भुक्तानी गर्ने रकमको किस्ताबन्दी अङ्क,
(झ) खण्ड (ज) मा उल्लिखित बाहेकका अन्य परियोजना कार्यान्वयन गर्दा नेपाल सरकारलाई कुनै प्रकारको रोयल्टी बुझाउने भए रोयल्टीको दर र भुक्तानी गर्ने रकमको किस्ताबन्दी अङ्क,
(ज) नेपाल सरकारबाट अपेक्षित सुविधा तथा सहुलियत वा नेपाल सरकारलाई दिन प्रस्ताव गरिएका आर्थिक फाइदा,
(ट) सम्झौताको प्रस्तावित अवधि ।
(२) लगानीकर्ताले प्रस्ताव सम्बन्धी कागजात खरिद बापत अनुसूची-३ बमोजिमको शुल्क सम्बन्धित निकायले तोकेको बैङ्क खातामा जम्मा गरी सोको निस्सा समेत पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पेश हुन आएका प्रस्ताव सम्बन्धित निकायले छुट्टै दर्ता किताबमा दर्ता गरी सुरक्षित राख्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम पेश हुन आएका प्रस्ताव प्रस्तावक वा निजको प्रतिनिधिको रोहबरमा सूचनामा तोकिएको मिति, स्थान र समयमा मूल्याङ्कन समितिले खोल्नु पर्नेछ ।
तर प्रस्तावक वा निजको प्रतिनिधि अनुपस्थित भएको कारणले मात्र प्रस्ताव खोल्न बाधा पुगेको मानिने छैन ।